जुम्लामा पनि एमबीबीएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय |
जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।
यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम शुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । ‘कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ’, उनले भने, ‘हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’



