उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने | अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिइने
काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बसेको थियो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको उनले बताए । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।
शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।
उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।



