गर्मी छल्न पोखरीमा नुहाउदा ५ बालिकाको ज्यान गयो |
धनुषा । धनुषाको मुखियापट्टी मुसरनिया–६, लक्ष्मीनियासँगै पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । उनीहरुसँगै रहेको ३ जना बालकको ज्यान जोगिएको स्थानीय अरुण यादवले बताए ।
साना २ जना बालकलाई डुब्नै लाग्दा अर्काले बाहिर तानेर ज्यान जोगाएको यादवले बताए ।
निर्माणधीन पोखरीमा वर्षा हुँदा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र यादवका १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी र उतीम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए । पोखरीमा डुबेर मृत्यु भएका बालिकाहरुको शव स्थानीयले निकालेका थिए ।
’गरिब परिवारका बालबालिका बाख्रा चराउन जाँदा पहिले पनि जमेको पानीमा नुहाउने गर्थे’, प्रहरी नायव उपरीक्षक मिश्रले भने,‘बच्चाहरु डुबेर मृत्यु भएको पाखेरी खन्ने क्रममा रहेको छ । पोखरी पूर्वतर्फ ५ फिटमात्रै गहिरो छ । पश्चिमतर्फ १० फिट गहिरो छ । पश्चिम तर्फबाट हाम फालेका बालिकाहरु निस्किन पाएन ।’ बालिकाहरुसँगै रहेका बालकको भने ज्यान जोगिएको मिश्रले बताए ।
’गाउँमा गएर बालिका डुबेको जानकारी दिने बालक डराएका कारण सोधपुछ हुन सकेन’, मिश्रले भने,‘गरिब परिवारका बालिकाहरुको डुबेर मृत्यु भएको हो ।’ मृतक बालिकाहरुको शव शुक्रबार साझ पोस्टमार्टमका लागि जनकपुर ल्याइएको छ ।
५ बालिकाको मृत्युले गाउँ शोकमा डुबेको छ । एक महिनाअघि मुखियापट्टी मुसरनिया–५ का हुलास यादवले पोखरी खन्न सुरु गरेका थिए । तर, दाजुभाइबीच विवाद हुँदा पोखरीको काम रोकिएको हुलासका बुबा परीक्षण यादवले बताए । मालापोत कार्यालय बन्द हुँदा छोराहरुबीच अंशवण्डा हुन नसक्दा पोखरी निर्माण रोकिएको बुबा रामपरीक्षणले बताए । बालिकाहरुको मृत्युपछि यादव परिवार फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।


