आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै | बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८∕७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।
संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ ।
मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।


