बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता |
नेपालगंज । बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।
प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू तीन जनालाई पक्राउ गरेको थियो। उनीहरू तिनै जनाविरूद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता भएको हो।
प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो ।
उनीहरूविरूद्ध भेरी अस्पताल तथा पीडित डाक्टर नर्स लगायतले जाहेरी दिएका थिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।
अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो ।
उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए ।
कोरोना भाइरसको महामारीको बेलामा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अहिले चौतर्फी बिरोध भएको थियो ।
घटनाको अनुसन्धान गर्न बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ । घटनासम्बन्धी प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।


