उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द |
काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द गर्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार सो निर्णय गरेका हुन् । ‘निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने निर्णय गरिएको छ’ काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले भने– ‘निर्माण बन्द गर्ने निर्णयसँगै निर्माण सामग्री बोकेका मोटर पनि चल्न पाउँदैनन् ।’ सो निर्णय जेठ १४ बाट लागू हुनेछ ।
सरकारी कार्यालयका सवारी–साधन सञ्चालनमा पनि प्रजिअहरुले कडाई गर्ने निर्णय गरेका छन् । जेठ १४ बाट लागू हुनेगरी विहान १० बजेपछि साँझ पाँच बजेसम्म सरकारी गाडी संचालनमा कडाई गरिने प्रजिअ पराजुलीले बताए ।
बिमा कम्पनी र बैंकका कार्यालय संचालनमा थप सीमितता ल्याउने निर्णय गरिएको छ । बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरिसकेको अवस्थामा त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रशासनको तयारी छ ।



