पुनर्बीमा कम्पनी खोल्न ५ आवेदन दर्ता |
काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी खोल्नका लागि ५ वटा आवेदन परेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बुधबार १२ बजेपछि आवेदन लिने कार्य बन्द भएको छ ।
५ कम्पनीहरु ओरेन्टल रि, काठमाडौं रि, अन्नपूर्ण रि, हिमालयन रि र जेन्युन रि इन्स्योरेन्स कम्पनीले आवेदन दर्ता गरेको पौडेलले जानकारी दिए ।
‘आवेदन दिएका यी कम्पनीबाट अब तोकिएका शर्त पुरा गरेकाहरु पहिला छनौट गरिन्छ, त्यसपछि तीमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीलाई लाइसेन्स दिइन्छ’ पौडेलले भने ।
पुनर्बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब तोकिएको छ । जसमा संस्थापकको तर्फबाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म र बाँकी कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिएर पुँजी जुटाइन्छ ।
प्रस्तावकले यसअघि नै हाल संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो प्रस्ताव अस्वीकार हुनेछ ।
हाल एउटा मात्रै नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ । कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत । बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ ।
जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
एकातिर निश्चित प्रतिशत स्वदेशकै कम्पनीमा पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था, अर्कोतिर सरकारी स्वामित्वको एउटा मात्रै कम्पनी खुलेपछि निजी क्षेत्रले आपत्ति जनाउँदै आएको थियो ।
प्रस्तावित काठमाडौं रिइन्स्योरेन्सका संस्थापक तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ रमेशकुमार भट्टराईले निजी क्षेत्रबाट एउटा पुनर्बीमा खुलेपछि प्रतिस्पर्धा हुन जाने बताए ।
Visited 1 times, 1 visit(s) today


