पद बहालीपछि प्रधानमन्त्रीले भने– महामारी नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौं |
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् ।
‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।
प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।
महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका छन् । ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका साथ गइरहेका छौ । यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वीकार्य हुनसक्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
यस्ता प्रवृति छोड्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह थियो । उनले अहिले कोभिड १९ का विरुद्ध लड्नुपर्ने बेलामा अस्वस्थ, अनुचित र जनतामा निराशा पैदा गर्ने र सरकारका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण प्रचार गर्ने र जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने प्रवृति हावी भइरहेको बताए । उनले यस्तो बेला कसैले कोभिडको रोकथाम वा स्वास्थ्य सेवाका नाममा भ्रष्टाचार गर्छ वा अनुचित लाभ लिन खोज्छ भने कडाइका साथ कारवाही गर्ने दोहोर्याए ।
प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड–१९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बताए ।



