प्रधानमन्त्री ओलीले लिए शपथ, आजै पदभार ग्रहण गर्दै |
काठमाडौं । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।
अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।



