नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक बैंकबीच आज मर्जर सम्झौता हुँदै |
काठमाडौं । निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्बन्धी सम्झौता हुने भएको छ । निकै पुराना ती बैंकबीच आज अल्फट होटलमा आज ३ बजे मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो ।
यसअघि नै दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पारित गरिसकेकाले आज मर्जर सम्झौतामा हप्ताक्षर गर्न लागेका हुन् ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ बराबर १ को अनुपातमा मर्जर हुन लागेका हुन् ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डे हुने छन् । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको रुपमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नयाँ बन्ने बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहने भएका छन् ।
दुई ठूला बैंक मर्जर भएपछि निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक हुने छ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको बुझिएको छ ।



