भारतमा एकदिन भित्र हालसम्मकै धेरै ४ लाख १२ हजार संक्रमित भेटिए, ३,९७९ को मृत्यु |
भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् ।
बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यीमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । अर्थात् संसारभरी महामारीका कारण भएको हरेक चौथो मृत्यु भारतमा भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।
भारतमा कोरोना महामारीको आँकडा
– पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितː ४ लाख १२ हजार
– पछिल्लो २४ घण्टामा भएको कूल मृत्युː ३,९७९
– पछिल्लो २४ घण्टामा निको भएकाː ३.३० लाख
– हालसम्म संक्रमित भएकाː २.१० करोड
– हालसम्म निको भएकाː १.७२ करोड
– हालसम्म कूल मृत्युː २.३० लाख
– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याː ३५.६२ लाख


