भूकम्प गएको ६ वर्षपछि लाप्राकको एकीकृत नमूना बस्ती हस्तान्तरण |
गोरखा । भूकम्प गएको ६ वर्षपछि धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ । वस्ती हस्तान्तरणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तको टोली बिहीवार लाप्राक पुगेको थियो ।
एक कार्यक्रमका बिच लाप्राकका भूकम्पपीडित डम्बर सिंह गुरुङलाइ लालपुर्जा थमाउदै उनीहरुले औपचारिक रुपमा बस्ती हस्तान्तरण भएको घोषणा गरे । बाँकी लालपुर्जा गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङलाइ हस्तान्तरण गरियो । गाउँपालिका मार्फत अन्य लाभग्राहीलाई लालपुर्जा वितरण गरिने बताइएको छ ।
५ सय ७३ मध्य हालसम्म १ शय ३० लाभग्राहीको लालपुर्जा तयार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ (जिमाली) गोरखाका प्रमुख रामशरण आचार्यले बताए । ‘हाम्रो टोली लाप्राक पुगेर लाभग्राहहरुको अनलाइन फोटो खिच्ने र विवरण संकलनको काम गरिरहेको छ,’ उनले भने, ‘त्यो सकेपछि हामी दुइ–तीन दिनमा बाँकी लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउछौ ।’ एउटा घरधुरीको भागमा तीन आना तीन पैसा जग्गा परेको बताइएको छ ।


