दैनिक कोरोना संक्रमित थपिने देशमध्ये फेरि पनि भारत संसारकै पहिलो |
छिमेकी भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन् । योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो। यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन् । त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे ।
संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ । शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ । यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो ।
भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


