महिलालाई रङ दल्न खोज्दा दर्लिङमा गयो दुईजनाको ज्यान |
काठमाडौं । प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि त्यहाँ एकाएक अशान्ति मच्चियो । निसी खोलाबाट आएका युवा र दर्लिङका युवा खुकुरी बोकेर कुटाकुटमा उत्रिए ।
जिल्ला प्रहरी कार्यालय, बाग्लुङले गरेको प्रारम्भिक अनुसन्धान अनुसार लिसी खोलाका युवाले दर्लिङका युवतीलाई रङ लगाइदिएपछि विवाद सुरु भएको थियो । मादक पदार्थ सेवन गरेका उनीहरुबीच झगडा भयो ।
त्यसक्रममा लिसी खोलाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई सख्त घाइते भए । धलेकाधलेक गर्दै गर्दा दुवै जना भिरबाट चार सय मिटर तल खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी एकवल हवारीले बताए ।
उनका अनुसार प्रहरीले आइतबार साँझै दुवै जनालाई उद्दार गरेर अस्पताल लैजाने प्रयास गरेको थियो । तर, बाटोमै दुवैको मृत्यु भएको उनले बताए ।
लिसी गाउँपालिकाका अनुसार ज्यान गुमाउने प्रकाश नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् भने दीपक वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका युवा हुन् ।
नेपाली कांग्रेसले यो घटना योजनाबद्ध भएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरेर छानविन अघि बढाउन भनेको छ । कांग्रेस नेताहरुले कुटपिटमा संलग्न पक्ष माओवादी कार्यकर्ता भएको दाबी गरेका छन् । तर, प्रहरीले भने यो घटनामा राजनीतिक नजोडिदिन भनेको छ ।
प्रहरीका अनुसार घटनामा संलग्नहरु चाँडै पक्राउ पर्नेछन् र थप अनुसन्धान सुरु हुनेछ ।



