हायात रिजेन्सीद्वारा ६ महिलालाई हायात वाउ वुमन अचिभर्सको अवार्ड प्रदान |
काठमाडौं । अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर मिडिया नाइनसँगको सहकार्यमा हायात रिजेन्सी, काठमाडौंले हायात वाउ वुमन अचिभर्स अवार्डको चौथो संस्करणको आयोजना गरेको छ ।
निर्णायक मण्डलले विभिन्न विधामा ५ महिलालाई सन् २०२० को फेब्रुअरीमा नै उक्त अवार्डका लागि मनोनित गरिसकेको थियो । तर, कोरोना महामारीका कारण उक्त कार्यक्रम रद्द गरिएको थियो । पछिल्लो समय होटल परिसरमा #ChooseToChallenge थीमसहित सानो कार्यक्रमको आयोजना गरी उक्त अवार्ड हस्तान्तरण गरिएको छ ।
कलाकारिता, नेतृत्व, उद्यमशीलता, सामाजिक सक्रियता र वर्षका प्रेरणादायी महिला गरी ६ महिलालाई पाँच वटा विधामा अवार्ड प्रदान गरिएको छ ।
कलाकारीता विधामा बेलमाया नेपालीलाई अवार्ड प्रदान गरिएको छ । उनी एक चर्चित डकुमेन्ट्री फिल्म निर्माता हुन् । उनको डकुमेन्ट्री ‘एजुकेट आवर डटर्स’ यूके एसियन फिल्म फेस्टिबल २०१९ मा सर्ट फिल्म प्रतिस्पर्धामा अब्बल साबित भएको थियो ।
यस्तै, उद्यमी विधाको अवार्ड सुनिता दनुवारलाई हस्तान्तरण गरिएको छ । सुनिता १४ वर्षको उमेरमा अपहरणमा परी जबरजस्ती यौनकर्मी बनाइएकी थिइन् । देह व्यापारमा लागेको चार वर्षपछि उनलाई उद्धार गरिएको थियो । नेपाल फर्किएपछि उनले शक्ति समूह नामको संस्था खोलिन् र यसमार्फत् उनी आफूजस्तै महिलाको उद्धार गर्ने गर्छिन् ।
रिता मानुसी सुनुवारलाई उद्यमशीलता विधाको अवार्ड प्रदान गरिएको छ । रुकुमबाट दाङमा सरेकी रिता रुकुमको विकट गाउँमा जन्मिएकी र हुर्किएकी हुन् । ६ कक्षामा पढ्दै गर्दा उनी माओवादी विद्रोहमा होमिइन् । उनको शिविरमा हुँदा नै विवाह भयो । हाल उनको सम्बन्धविच्छेद भइसकेको छ र उनी कृषि कर्मतिर लागेकी छिन् । उनले विगत ६ वर्षदेखि लामाटारमा १५ रोपनी जग्गामा कृषि गरिरहेकी छिन् ।
यस्तै, सामाजिक सेवा विधातर्फ सङ्गीता मगरलाई अवार्ड हस्तान्तरण गरिएको छ । उनी १६ वर्षको हुँदा एसिड आक्रमणमा परेकी थिइन् । त्यतिबेला उनी एसएलसी परीक्षाको तयारीमा थिइन् । उनले एसिड आक्रमण सम्बन्धि नेपालको कानूनलाई चुनौती दिँदै देशको सर्वोच्च अदालतलाई एसिड आक्रमणपश्चात्को उपचार सरकारले व्यवहोर्न आदेश दिन बाध्य बनाइन् ।
यसका साथै, सन् २०२० की प्रभावशाली महिलाको अवार्ड साबित्रा भण्डारीलाई प्रदान गरिएको छ । उनी एक महिला फुटबल खिलाडी हुन् । कुनै पनि नेपाली महिला फुटबलरद्वारा सर्वाधिक अन्तरराष्ट्रिय गोल गरेर उनले रेकर्ड कायम गरेकी छिन् ।
यस्तै, मुस्कान खातुन सन् २०२१ की प्रभावशाली महिला बनेकी छिन् । मुस्कान १५ वर्षको हुँदा सन् २०१९ मा एसिड आक्रमणमा परेकी हुन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि यस्तो आक्रमण भएको थियो । विभिन्न दबाबका बाबजुद उनी एसिड आक्रमण गर्नेहरुलाई कडा कारवाही हुनुपर्छ भन्दै माग गर्नेमा उनी सशक्त आवाज हुन् ।


