शिवरात्रिका दिन काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट |
काठमाडौं । बिहीबार शिवरात्रि पर्व परेको छ । पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा भोलि सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो ।
तपाईं बिहीबार काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ भने वा पशुपतिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा पनि जानकारी लिन जरुरी छ ।
शिवरात्रिको दिन चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ । यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।
चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।
यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।
यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।

Visited 2 times, 1 visit(s) today


