नेपालले भारतबाट किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो |
काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।


