पछिल्लो साता सस्तिएको सुनको मूल्य आइतबार वृद्धि |
काठमाडौं । पछिल्लो साता सस्तिएको सुनको मूल्य यस साताको पहिलो दिनमा वृद्धि भएको छ । फागुन ९ गते, आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । यद्धपि यस दिनको मूल्य पनि ९ महिना यताकै सस्तो हो । यसअघि जेठ महिनापछि प्रतितोला ८९ हजारको हाराहारीमा सुन कारोबार भएको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य जेठ महिनायताकै सस्तो मूल्य थियो ।
सुनको भाउसँगै चाँदीको भाउ पनि आइतबार बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको बुधबारदेखि शुक्रबारसम्म चाँदी प्रतितोला ५५ रुपैयाँले गिरावट भएर साताको अन्तिम कारोबार मूल्य प्रतितोला एक हजार ३०५ रुपैयाँ तोकिएको थियो ।


