रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ |
रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।
उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्युत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथ इण्डियाले चरम ढिलासुस्ती गर्दा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भइरहेको कार्यरत प्राविधिक हरूले बताएका छन् ।
भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन २०१४ देखि निर्माण कार्य सुरु भएको रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने ४ हजार १८५ मिटर सुरूङ गत २०७६ साल भदौ ४ गते देखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको प्राविधिकको भनाइ छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका ३ वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इण्डियाले कोभिड–१९ को कारण दर्शाउँदै आलटाल गर्दैआएको बताइन्छ । सुरूङ लगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सीडब्लुईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको छ ।
कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड–१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको अवस्थामा उपकरण जडानकर्ता भोइथ इण्डिया गैरजिम्मेवारी हुँदै गएको आयोजनामा कार्यरत प्राविधिकहरू बताउँछन् ।
आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नुपर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताए । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैह्रेले जानकारी दिए । यस्तै, आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रू भई थोरै भागको सफाइ गर्न बाँकी रहेको छ ।
१६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्यांकी निर्माण कार्य भइरहेको छ । बालुवा थिग्र्याउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरूङमा रोकिएको र ल्याउने प्रक्रिया अगाडि बढेकोले उक्त पोखरी छिट्टै सम्पन्न हुने बताइएको छ ।
निर्माणका क्रममा बाहिरी भागमा केही असहज भए पनि भूमिगत संरचना भएका कारण वातावरणीय हिसाबले रसुवागढी जलविद्युत् आयोजना दिगो र भरपर्दाे हुने वातावरणविद् तेज साउथले बताए । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदुर कार्यरत छन् । ती मध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ ।


