जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफको अग्रता कायमै, हेरौं कुन कम्पनी कस्तो ? |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले पछ्याउँदै आइरहेका छन् ।
आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो ।
चुक्ता पूँजी सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, लगायतको सूचक अग्रस्थानमा छ ।
अधिकाँस सूचकमा नेपाल लाइफले लिड गर्दा नेप्सेमा सूचीकृत नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ र प्रभु लाइफ कमजोर देखिएको छ । पुराना कम्पनीहरुको तुलनामा रिलायन्स र प्रभु लाइफ नयाँ भएकोले कमजोर देखिएको हो ।
पुरानो कम्पनीमा भने गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ । यस कम्पनीको चुक्ता पूँजी पनि सबै भन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । यस्तै प्राइम,सुर्या, रिलायन्स लाइफ,एशियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् ।
नेप्सेमा सूचीकृत ९ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल ४३ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफले मात्रै १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ अर्थात ३९.३७ प्रतिशत योगदान रहेको छ ।
यस्तै एलआइसी नेपालले ९ अर्ब ५६ करोड रुपैयाँ, नेशनल लाइफले ५ अर्ब ४८ करोड, एशियन लाइफले ३ अर्ब १३ करोड, सूर्या लाइफले २ अर्ब २८ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ८० लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।
नेप्सेमा सूचीकृत नयाँ जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ र प्रभु लाइफ सूचीकृत छन् । त्यसमध्ये रिलायन्स लाइफको खुद बीमाशुल्क १ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै प्रभु लाइफको सबै भन्दा कम ६० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
नेप्सेमा सूचीकृत नौं जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
त्यस पछि नेशनल लाइफले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै एशियन लाइफले २० करोड १४ लाख रुपैयाँ, सुर्या लाइफले २० करोड १२ लाख, प्राइम लाइफले १९ करोड ३६ लाख रुपैयाँ, एलआइसी नेपालले ११ करोड ५६ लाख, गुराँस लाइफले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
नयाँ सूचीकृत बीमा कम्पनीमा प्रभु लाइफले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा रिलायन्स लाइफको खुद नाफा भने सबै भन्दा कम रहेको छ । यस अवधिमा रिलायन्स लाइफले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबैभन्दा धेरै रकम सञ्चित छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ अर्ब १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ । यस्तै एलआईसी नेपालको ७४ अर्ब २४ करोड, एशियन लाइफको २४ अर्ब ७१ करोड, प्राइम लाइफको १३ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
जीवन बीमा कोषमा सबै भन्दा कम प्रभु लाइफको १ अर्ब ४३ करोड रुपैयाँ मात्रै रहेको छ ।
जगेडा कोषमा भने नेशनल लाइफ इन्स्योरेन्स बलियो देखिएको छ । नेशनल लाइफको जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ । जीवन बीम कोष बलियो रहेको नेपाल लाइफको जगेडा कोषमा भने १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
जगेडा कोषमा सबै भन्दा कम रिलायन्स लाइफको रहेको छ । रिलायन्स लाइफको जगेडा कोषमा १९ करोड रुपैयाँ सञ्चित छ ।
प्रतिशेयर आम्दानीमा एशियन लाइफ इन्स्योरेन्स अघि देखिएको छ भने नेटवर्थका आधारमा नेशनल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । एशियन लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी २० रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८८ पैसा कायम छ ।
यस्तै सूर्या लाइफको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, प्राइम लाइफको १६ रुपैयाँ २ पैसा , नेशनल लाइफको १३ रुपैयाँ ९४ पैसा, नेपाल लाइफको ११ रुपैयाँ ९२ पैसा, एलआईसी नेपालको ११ रुपैयाँ ५० पैसा, गुराँस लाइफको ८ रुपैयाँ ५० पैसा र प्रभु लाइफको ८ रुपैयाँ ८ पैसा रहेको छ ।सबै भन्दा कम प्रतिशेयर आम्दानी भने रिलायन्स लाइफको ५ रुपैयाँ ५० पैसा रहेको छ ।


