महासंघको बैंक, वित्तीय तथा बीमा समिति विस्तार |
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा बैंक तथा बीमा समिति विस्तार भएको छ ।
महासंघले आज अग्रवालको नेतृत्वमा गठन गरेको समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता छन्।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघ सदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी छन्।
त्यसैगरी, समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैद्य, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन्।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति महासंघको अत्यन्त महत्त्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू सन्तुलित र गहन हुनुपर्ने बताए।
बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने कुरा निर्विवाद रहेको गोल्छाले बताए। उनले भने, “हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु पर्छ।”
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैकिङ क्षेत्रबीच तनावको अवस्थासमेत आउने गरेका विगतका यथार्थता हामी सवैका सामुन्ने रहेको बताए।
सोही कारण, अत्यन्त सोचविचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यवसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा उनले जोड दिए।


