सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ |
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न आजबाट ‘हेली टुर’ सुरू भएको छ ।
खप्तड प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खप्तडमै पुगेर ‘हेली टुर’ सुरू गराएका हुन् ।
खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काका अनुसार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलगायत ३५ जना खप्तड पुगेका छन् ।
हिउँदे याममा खप्तडको दृश्य कैद गर्न इच्छुकका लागि ‘हेली टुर’ प्याकेज सुरू गरिएको खड्काले बताए ।
कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई पुर्नजीवन दिने उद्धेश्यले हेली प्याकेज बनाइएको खड्काले बताए । ‘आन्तरिक पर्यटनमार्फत् कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउन हेली प्याकेज बनाएको हुँ’, उनले भने ।
बुधबार सात ट्रिप गरेको हेलिकप्टरले ३५ जनालाई खप्तड उतारेको थियो ।
कार्यक्रममा नेपाल पर्यटन कोर्डका सदस्य कृष्णबहादुर महरा, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य लालमणि पन्त, खप्तड विकास बोर्डको अध्यक्ष हर्कबहादुर सिंह, खप्तड विकास बोर्डका कार्यकारी प्रमुख हिमबहादुर खड्का, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, वार्डेन चन्द्रशेखर चौधरी, रेन्जर केदार दास, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन खरेललगायतको सहभागिता थियो ।
खप्तडको प्रवेशद्धार झिग्रानामा ‘खप्तड होमस्टे’ सञ्चालन गर्दै आएका खड्काले ५ किसिमका प्याकेज ल्याएका छन् । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ ।
अब धनगढीबाट ३० हजार, दिपायलबाट १० हजार र झिग्रानाबाट ८ हजार रुपैयाँको प्याकेज किनेर खप्तड घुम्न सकिनेछ ।
‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ ।’
पाँच दिनमा ३ सय पर्यटकलाई खप्तड पुर्या उने योजना रहेको उनले उल्लेख गरे ।


