बाइडनले लिए ४६ औं अमेरिकी राष्ट्रपतिको सपथ |
काठमाडौं । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन् । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गरिसकेका थिए । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । पछिल्लो १५० वर्षको इतिहासमा भने उनी पहिलो राष्ट्रपति हुन् ।
बुधबार भएको शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।
बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएकी थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एवंर अश्वेत उपराष्ट्रपति हुन् ।
सपथ ग्रहण समारोहमा बोल्दै बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए । उनले आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


