कृषिमा विदेशी लगानीको पक्षमा निजी क्षेत्र |
काठमाडौं । कृषिमा विदेशी लगानीबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त धारणा व्यक्त गरेको छ । सोमबार संयुक्त रुपमा एक वक्तव्य जारी गर्दै नेपालको कृषि क्षेत्रमा विदेशी लगानीबारे सरकारलाई सुझाव पत्र पठाउने निर्णयसमेत गरेको छ ।
उक्त सुझावमा विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको भन्दै सरकारले जनाएका विगतका प्रतिवद्धता पुरा गर्न र आवश्यक कानुन संशोधन गर्न भनिएको छ ।
कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा त्यसबाट भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेर मात्र निर्णय गर्नु तीन संस्थाको संयुक्त वक्तव्यमा उल्लेख छ । 'उच्चतम प्रविधि भित्राउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यावन्यनमा लगिनु पर्ने माग छ ।' वक्तव्यमा भनिएको छ ।
२०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पुर्णतः बन्देज गरेको सन्दर्भमा मन्त्रीपरिषदको निर्णयबाट आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपंन्छीपालन, माछापालन, मौरीपालन, फलफुल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसंग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी भएको व्यवस्थाको यससंग सम्बन्धित कृषि उद्यमीहरुले बिरोध गरिरहेका छन् ।
त्यसैगरि कृषि जस्तो सर्वसाधारणको जिविकासंग प्रत्यक्ष जोडिएको बिषयमा विदेशी लगानी भित्राउन नहुने एउटा तर्क छ भने बढदो व्यापार घाटा कम गर्न एवं उत्पादन र उत्पादकत्व बढाउन विदेशी लगानी र प्रविधि आवश्यक रहेको बिषय पनि उठेको छ ।


