ओलीले संविधान नै विघटन गरिदिए ː पूर्वसभामुख ढुंगाना |
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिको बताएका छन् । सोमबार काठमाडौंमा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरि प्रतिनिधिसभा विघटन गर्नुभएको छ । यो संविधानको विघटन हो ।’ उनले यो संविधानले राम्रो व्यवस्था होइन, तानाशाह नै पो जन्माएको हो कि भन्ने आशंका आम रुपमा उठ्ने भन्दै यसको निरुपण हुनुपर्ने बताए ।
ढुंगानाले न्यायालयले कमजोरी गर्न नहुने भन्दै न्यायालयमाथि नागरिकले प्रश्न उठाउने अवस्था नआओस् भन्ने कामना गरे। उनले भने, ‘अदालतको पनि जवाफदेहिता छ। सडकबाटै भोलि न्यायाधीश तान्ने दिने आउला। फिलिपिन्समा त्यस्तो भएको छ । बलिदानी प्रधानमन्त्री भएको देशमा ज्ञानी न्यायाधीश छन्। यदि अहिलेको कदम सच्चिएन भने संविधान खारेज हुन्छ ।’
उनले नागरिक चनाखो हुनुपर्ने बेला आएको बताए । ‘एक दिनको मात्रै कदम होइन विघटन हुने कुरो । सांसद नै चनाखो हुनुपर्ने उनीहरुलाई केही थाहा भएनछ । प्रधानमन्त्री भलादमी छन् भनेर चुप लागेर बसेछन् । प्रतिनिधिसभाका हरेक सदस्य अहिलेको कदममा जिम्मेवार हुनुपर्ने हुन्छ ।’
उनले राष्ट्रियसभाको अधिवेशन पनि नाटकीय रुपमा अन्त्य भएको टिप्पणी गरे । ‘हिजो नाटकीय हिसाबले राष्ट्रियसभाको अधिवेशन बन्द गरिदिनुभयो ।’ अदालतले संसद विघटनको निर्णय बदर नगरेमा संविधान नै बदर गरेसरह हुने ढुंगानाको दावी छ । उनी भन्छन्– ‘संविधान हेर्ने हो भने ससंद पुनःस्थापना हुन्छ । अदालतले पुनːस्थापना नगर्ने हो भने संविधान नै खारेज गरिदिएपनि हुन्छ ।’
यद्यपि प्रतिनिधिसभा ब्यूँतिए पनि राजनीतिक रुपमा अशक्त भइसकेकोले धेरै काम गर्न नसक्ने ढुंगानाको दावी छ । उनले अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट नभए सडकबाट पुनःस्थापना गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।


