छातीरोग विशेषज्ञ गौरीशंकर लालदासलाई हेमन्तबहादुर मल्ल पुरस्कार |
काठमाडौं । छातीरोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई ‘हेम बहादुर मल्ल पुरस्कार–२०७५’ बाट सम्मानित गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा नेपाल जनप्रशासन संघले यसवर्ष उक्त पुरस्कार लालदासलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पूर्वमन्त्री माधव पौडेलको नेतृत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य उच्चस्तरीय छनौट समितिले गरेको सिफारिस बमोजिम संघको शुक्रबारको बैठकले सो सम्मान दिने निर्णय गरेको संघका अध्यक्ष गौरीबहादुर मल्लले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसन पूर्व अध्यक्ष हेम बहादुर मल्लको नाममा २०५९ सालमा स्थापना भएको यो पुरस्कार शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापकलाई हरेक वर्ष यस्तो पुरस्कार प्रदान गरिँदै आएको छ । लालदासलाई प्रदान गर्न लागिएको यो पुरस्कार १६ औं हो । हाल यो पुरस्कारको राशी रु लाख रुपैयाँ रहेको छ ।
यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. विमल कोइराला, महाबीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।
को कुन् गौरीशंकर ?
१९२८ मा सिराहमा जन्मिएका गौरीशंकर लालदास वरिष्ठ छातीरोग विशेषज्ञ हुन् । भारतको पटना विश्वविद्यालयबाट एमबिबिएस गरेका लालदास २००९ सालदेखि नेपालको स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेका थिए । उनले १९७५ देखि १९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा गरेका थिए । उनको नेतृत्वमा माल्दिम्भसमा पनि विश्व स्वास्थ्य संगठनले यस्तो योजना बनाएको थियो । पछि उनी लोकसेवा आयोग र मानव अधिकार आयोगको सदस्य समेत भएका थिए । अहिले उनको उमेर ९६ वर्ष पुगेको छ ।
घोषणा कार्यक्रममा साल्ट ट्रेडिङका प्रबन्ध निर्देशक उर्मिला श्रेष्ठले जनप्रशासन संघजस्तो संस्थासँग मिलेर यस्तो पुरस्कार कार्यक्रम आयोजना गर्नु साल्ट ट्रेडिङका लागि गौरवको विषय रहेको भन्दै आगामी दिनमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिँदै जाने बताइन् । साल्ट ट्रेडिङको मुख्यालय कालीमाटीको सभाहलमा कार्यक्रम गर्दै उक्त पुरस्कारको घोषणा गरिएको थियो ।


