ट्रम्प समर्थकको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुग्यो |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ ।
मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ ।
अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो ।
अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन् ।
वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन् ।
यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए ।
ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए। सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए ।
ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए ।


