विद्यमान राजनीतिक अवस्थामा काम गर्न नसकिने अवस्था आएपछि राजीनामा दिएको हुँ ː मन्त्री बोहरा |
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक परिस्थितिले राजीनामा दिन बाध्य पारेको बताए । विद्यमान राजनीतिक अवस्थामा काम गर्न नसकिने परिस्थिति आएको थियो । यस्तो अवस्थामा पनि पदमा बसिरहे जनतामा अन्याय हुने ठानेर राजीनामा दिएको हुँ, उनले भने ।
आफूलाई कसैले हटाउने डरले राजीनामा नदिएको उनको भनाइ छ । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदबाट हटाउने काम निन्दनीय छ, उनले भने ।
राजनीतिक अंकगणितमा प्रचण्ड (नेपाल पक्षका वर्तमान मुख्यमन्त्रीसँग बहुमत नरहेको उनको भनाइ छ । बहुमत भए सरकार चलोस् तर राजनीतिक गणित उहाँहरूले भनेको भन्दा फरक छ,झ उनले भने ।
बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । तत्कालीन माओवादी केन्द्रबाट वामगठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।
उनले राजीनामा दिएसँगै आफू प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा रहेको खुलाएका छन् । अब ओलीको पक्षमा उनीसहित पूर्वभौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा खुलेका छन् ।
प्रदेशसभामा जम्मा ५३ सांसदमध्ये १२ कांग्रेसका, २ जनता समाजवादी पाटीका र बाँकी ३९ जना नेकपाका छन् ।
Visited 1 times, 1 visit(s) today


