महामारी पूर्वतयारी तथा प्रतिक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु |
काठमाडौं । नेपालमा कोविड–१९को संक्रमण हाल केही कम देखिएता पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ । कोविडसम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउण्डेसन, एसियाली विपद् पूर्वतयारी केन्द्र तथा एनडीआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पूर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्यूनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचईओसी) का प्रमुख डा. समिर अधिकारीले विपद् पूर्वतयारी एवं व्यवस्थापनमाथि आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी, नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश–१ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रती सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यासपश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे ।
एसियाली विपद् पूर्वतयारी केन्द्रका देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपद्को सामना गर्नुपूर्व सबैले विपद्को पूर्वतयारीमा सबैको ध्यान केन्द्रित रहनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै चौधरी फाउण्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउण्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरिन् ।
प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को बिरगंज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कंचनपुरमा पनि संचालन गरिने बैंकले बताएको छ ।



