देशभरका ३० हजार सहकारीमा ७३ लाख मानिस आवद्ध |
काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् ।
जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् ।
त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्् ।
देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।



