पठाओका राइडरले गरे कार्यालयमा तोडफोड, संलग्नलाई सेवामा प्रतिवन्ध लगाइने |
काठमाडौं । सोमबार राइडरहरुको एउटा समूहले मध्यबानेश्वरस्थित पठाओ नेपालको कार्यालयमा ढुंगामुढा गरेका छन् । कम्पनीले असन्तष्टहरूको समूह सानो रहेको बताएको छ भने विभिन्न माग उठाउनेहरू सबै राइडरको प्रतिनिधि आवाज बोलेको बताउँदैछन् ।
अघिल्लो सोमबार विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका राइडरहरु आज फेरि कम्पनी घेर्न पुगेका थिए । कार्यालय बाहिर जम्मा भएका उनीहरुलाई सम्बोधन गर्न आएका कम्पनीका प्रतिनिधिलाई दुर्ब्यवहार गर्दै तोडफोडमा उत्रिएपछि प्रहरी पुग्नु पर्यो । प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर बानेश्वर बृत्तमा राखेको छ र अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
के हो विवाद ?
पठाओ, नेपालमा धेरै प्रयोगकर्ता भएको राइड सेयरिङ एप हो । कम्पनीका अनुसार ७५ हजार राइडर आवद्ध भइसकेका छन् भने पठाओ एप प्रयोगकर्ताको संख्या १२ लाख नाघेको छ । जसरी प्रयोगकर्ता र राइडर बढ्दै गएका छन्, त्यही अनुपातमा असतुष्टि पनि बढ्दै गएको छ ।
पछिल्लो समयमा कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राखेर नयाँ नयाँ नियम लगाएको छ । यसमा राइडरहरुको असन्तुष्टि छ । सबैभन्दा ठूलो असन्तुष्टि कम्पनीले लिने कमिसनमा छ । राइडर मन्जिल राय (नाम परिवर्तन)का अनुसार उनीहरुले यसबारे कम्पनीको पटक पटक ध्यानाकर्षण पनि गराएका हुन् ।
अहिले कम्पनी कमिसन २० प्रतिशत छ । यसो गर्दा कम्पनीले धेरै नाफा कमाउने, तर आफूहरु आर्थिक समस्या परेको राइडरहरुको गुनासो छ । त्यसैले कम्पनी कमिसन ८ प्रतिशतमा झार्न माग गरेका छन् ।
कम्पनीले तोकेका नियमहरु उल्लंघन गर्दा कम्पनीले गर्ने कारबाहीबारे पूर्व जानकारी दिनुपर्ने, कस्टमर केयर सेन्टरको फोन टोल फ्रि हुनुपर्ने लगायतका ११ बुँदे माग राइडरहरुले अघि सारेका छन् ।
तर, पठाओ नेपाल सबै माग पुरा गर्न तयार छैन । कम्पनीले कम्पनीले सोमबार मात्र राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लाखको दुर्घटना बिमा गर्ने घोषणा गरेको छ । निलम्बन प्रक्रियालाई केही सहज बनाउन पनि कम्पनी तयार देखिएको छ, तर यात्रुको सुरक्षालाई ध्यानमा राखेर राइडरहरुको कतिपय माग पुरा गर्न नसकिने पठाओले बताएको छ ।
राइडरहरुको केही माग सम्बोधन गर्दागर्दै पनि कार्यालयमा तोडफोड भएपछि पठाओ नेपाल रुष्ट बनेको छ । उसले तोडफोडमा संलग्न राइडरहरुलाई आफ्नो प्लेटर्फममा आजीवन प्रतिवन्ध नै लगाउने तयारी गरेको छ ।


