आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘घुमौं सौराहा’ अभियान |
वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएका छन् ।
अभियान मार्फत पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर व्यवसायीहरुले सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोलीले विराटनगर पछि प्रदेश २ को जनकपुर, बर्दिबास र वीरगञ्जमा आएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी, उद्योगी, स्थानीय जनप्रतिनिधि, ट्राभल एण्ड टुर्सका प्रतिनिधि लगायत सरोकारवालालाई भेटेर उनीहरुले सौराहा आउन आग्रह गरेका हुन् । होटल व्यवसायी संघलाई अभियानमा जिल्ला समन्वय समिति, चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन बोर्डले अभियानमा साथ दिएको छ ।
वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्नेहरुले कोरोना महामारीका कारण थलिएको होटल तथा पर्यटन व्यवसायलाई माथि उकास्न नाका खोल्नुपर्नेमा जोड दिएका छन् ।
वीरगञ्जबाट नै देशभर पर्यटक जाने भएपनि नाका हुँदै भारतीय पर्यटकलाई आउन रोक लाग्दा व्यवसायले गति लिन नसकेको वक्ताहरुको ठहर छ ।
‘पर्यटन क्षेत्रमा ७० प्रतिशत भन्दा बढी भारतीय पर्यटक आउँछन् । तर कोरोना नियन्त्रणको नाममा नाका बन्द गरिएको छ,’ उनीहरुले भनेका छन्, ‘यसले पर्यटन क्षेत्रलाई झनै ध्वस्त पारिरहेको छ । पर्यटन क्षेत्रलाई माथि उठाउन नाका खोल्नुको विकल्प छैन ।’


