कान्तिपुर डेन्टल हस्पिटलले भित्रायो सिएडी-सिएएम प्रविधि |
काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ एण्ड रिसर्च सेन्टरले सिएडी-सिएएम (कम्प्युटर एडेड डिजाइन तथा कम्पियूटर एडेड म्यानुफ्याक्चरिङ) प्रविधि भित्राएको छ ।
बुधबार १३ औं वार्षिकोत्सव मनाउँदै आफूले नयाँ भित्राएको जानकारी उसले दिएको हो ।
प्रविधिको प्रयोगले यसअघि कृतिम दाँत बनाउने काम (क्राउन ब्रिज)लाई सजिलो बनाउनेछ । यसअघि कृतिम दाँत राख्दा राख्नुपर्ने दाँतको नाप लिन झन्झटिलो एल्जिनेट इम्प्रेसन प्रयोग गरिन्थ्यो ।
अब यी सबै काम कम्प्युटरको सहायतामा स्क्यानरले गरिनेछ जसका कारण २-३ घण्टामा नै कृतिम दाँत लगाउन सकिनेछ । यसअघि साता दिनसम्मको समय लाग्ने गर्थ्यो ।
यो प्रविधि नेपालका केही अस्पतालमा उपलब्ध भएपनि कलेजमा भने पहिलोपटक ल्याइएको अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले बताए ।
आफूहरूले ल्याएको प्रविधि सजिलो र विरामीका लागि झन्झटरहित भएको उनको भनाइ छ ।
त्यसैगरी अस्पतालले 'ओरल एण्ड म्याक्सिलोफेसियल ट्रमा सेन्टर'बाट विरामीहरूलाई सेवा दिदैं आएको छ ।
सेन्टरले सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा तथा खुँडेपनको अत्याधुनिक उपचार गर्नेगर्छ ।


