चार ठूला पूर्वाधार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश |
काठमाडौं । लगानी बोर्डले सहजीकरण गरिरहेका मध्ये चारवटा ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले सम्बन्धित परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालय समक्ष पेश गरेका छन् ।
प्रतिवेदन पेश गर्ने मध्ये बीरगंज र भैरहवामा निर्माण हुने ‘प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क हेण्डलिङ फेसिलिटिज’ परियोजनाको लागि विकासकर्ता कम्पनी ‘फ्लास फ्रेट लजिस्टिस एण्ड इन्टरनेसनल कार्गो टर्मिनल एण्ड इन्फस्ट्रक्चर प्रालि’ ले मंगलबार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीईएसआर) पेश गर्याे ।
सो डीईएसआरका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मंसिर १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैगरी, विराटनगरमा निर्माण हुने ‘मल्टी मोडल लजिस्टिक पार्क’ले समेत आज उक्त परियोजनाको डीईएसआर बोर्डको कार्यालय समक्ष पेश गर्याीे। बोर्डको कार्यालय र उक्त विकासकर्ता कम्पनीबीच २०७६ असार २ मा डीईएसआर का लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
साथै, ‘चाइना नेपाल फ्रेन्डसिप इनडस्ट्रियल पार्क’ परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डस्ट्रियल’ सोमबार बोर्डको कार्यालय समक्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेको छ ।
२०७६ साउन १७ मा सम्पन्न लगानी बोर्डको ३९औं बैठकले उक्त परियोजना निर्माणको लागि ५८.६१ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना ‘ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलोपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रियसन कन्सट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (जेपीजेसीसीपीडी) दमक क्लिन इन्ड्रस्ट्रियल पार्क’ संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ ।
त्यसैगरी विरेठाँटी –मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले २०७७ मंसिर १४ मा बोर्ड कार्यालय समक्ष डीपीआर पेश गरेको छ । कुल ८०.१६ किमी लामो प्रस्तावित केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ सम्मको हुनेछ ।
यसैबीच, लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत प्राधिकरण र होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीहरुबीच उक्त परियोजनाको लागि आवश्यक विद्युत प्रसारणलाइन निर्माणमा देखिएका समस्या समाधानको लागि आज छलफल भयो । उक्त छलफलमा विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्यले आगामी जेठ भित्र उक्त परियोजनाको लागि प्रसारण लाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाले रोजगारी लगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पुयाउने उल्लेख गर्दै यस्ता परियोजनाहरुको कर्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए ।
बैठकमा लगानी बोर्डका सहसचिव धर्मेन्द्र कुमार मिश्रले परियोजनाहरुलाई समयमै सम्पन्न हुने व्यवस्थाको सुनिश्चितताको लागि लगानी बोर्ड कार्यालय सदैव क्रियाशील रहने बताए ।
Visited 1 times, 1 visit(s) today


