उखु किसानले शुरु गरे आन्दोलन |
काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।
चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।
जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ ।




