बेल्जियमसँग कार्पेट र हस्तकलाका वस्तुमा जोड दिन सिएनआईको आग्रह |
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले मुलुकको निर्यात व्यापार प्रवद्र्धनका लागि बेल्जियमसँग नेपाली कार्पेट र हस्तकलाका वस्तुहरुमा जोड दिन आग्रह गरेको छ । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीसँग आइतबार राजधानीमा भेटवार्ता गर्दै सिएनआईका प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् ।
उक्त भेटका क्रममा बेल्जियम र युरोपियन युनियनमा आबद्ध राष्ट्रहरुमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्य स्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामाग्रीहरुको माध्यमबाट नेपालको पर्यटन व्यवसाय प्रवद्र्धनको पहल गर्न समेत सिएनआईले आग्रह गरेको छ ।
‘बेल्जियम नेपालबीच लामो समयदेखि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक कुटनीतिक सुसम्बन्ध रहँदै आएको छ । दुई देशबीचको यस खालको सम्बन्धलाई अझ थप प्रगाढ बनाई मुलुकको आर्थिक पक्षसँग जोड्नुपर्ने देखिन्छ । यसका लागी बेल्जियममा नेपाली कार्पेट र हस्तकलाका वस्तुहरुको निर्यात व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता हो ।’ सिएनआईका अध्यक्ष सतिसकुमार मोरले भने, ‘यसमा महामहिम राजदुत गेहेन्द्र जी को भूमिका अहम रहनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ ।’
त्यस्तै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले अन्य मुलुकहरुमा जस्तै बेल्जियम र युरोपियन युनियनमा आवद्ध देशहरुमा पनि नेपालले पर्यटन प्रवद्र्धन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी र उनी गलैंचाहरुको निर्यातलाई प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताए ।
छलफलका क्रममा राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको सधै सहकार्य हुनुपर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आपूmले पहल गर्ने बताए । त्यसैगरी सम्भाव्यता बोकेका नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन लगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनको लागि आपूmले सकेको पहल गर्ने समेत राजदुत भण्डारीले बताए ।
आर्थिक मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको अपेक्षाहरुलाई पुरा गर्नको लागि नीतिगत व्यवस्थाहरुलाई सहज बनाइ कार्यान्वयनको लागि आपूmले सकेको योगदान पुर्याउने उनले प्रतिबद्धता जाहेर गरे । सो क्रममा परिसंघले कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्न राजदूत भण्डारीसँग आग्रह गरेको छ ।


