आइपीएल ː दिल्ली कयापिटल्सलाई पराजित गर्दै मुम्बई फाइनलमा, दिल्लीलाई अर्को मौका |
काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो ।
दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।
उता क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ । शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।


