द्विपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य बढाउनु पर्नेमा परिसंघको जोड |
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । नेपाल सरकारको तर्फबाट सम्बन्धित देश पाकिस्तान र टर्कीको कार्यभार सम्हाल्न जाँदै गरेका नव नियुक्त राजदूतसँग परिसंघले यस्तो आग्रह गरेको हो ।
बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै परिसंघले पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग कार्यभार सम्हाल्न जानुअघि अन्तरक्रिया गरेको छ । राजदूत अधिकारीसँगको अन्तरक्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले अधिकारीको कार्यकालमा नेपाल–पाकिस्तानको सम्बन्ध अझ सुदृढ र मजबुद हुने विश्वास व्यक्त गरे ।
‘नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको छ । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवर्द्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत छ । दक्षिण एसियाली मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदूतावासहरुको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतको भूमिका अहम रहनेमा परिसंघ विश्वस्त छ’ अग्रवालले भने ।
यसै अवसरमा उनले पाकिस्तानसँग नेपालको लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुदै पनि आपूर्ती प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल लिन समेत राजदूत अधिकारीसँग आग्रह गरे ।
छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तान बीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए ।
नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ती प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्ने देखिएकाले सो कार्यलाई प्राथमिकताका साथ अग्रस्थानमा राखिने राजदूत अधिकारीले बताए ।
त्यस्तै सोही छलफलका क्रममा राजदूत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफूले पहल गर्ने विश्वास दिलाए । यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ पनि आफूले ध्यान दिने बताए ।



