शुक्रबार मध्यरातबाट रोकिए अधिकांस बिदेशी चर्चित च्यानल |
काठमाडौं । सरकारले हिजो शुक्रबार राती १२ बजेबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागु गरेको छ । यससँगै मध्यरातबाट स्थानीय भाषामा विज्ञापन नबनेसम्म नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु विज्ञापनरहित हुँदैछन् ।
यसका लागि सरकारले केबल तथा सेटेलाइट अपरेटरहरुलाई निर्देशन समेत दिइसकेको छ । अक्टोबर २४ (कात्तिक ८) बाट अनिवार्य क्लिन फिड लागु गर्न सरकारले निर्देशन दिएको केबल तथा सेटेलाइट अपरेटरहरुले बताएका छन् ।
सरकारले क्लिनफिड कडाइका साथ लागु गर्दै पालना नगर्नेलाई कारबाहीको संकेत दिएपछि केबल तथा सेटेलाइट टेलिभिजन अपरेटरहरुले क्लिन फिड लागु भएबाहेकका अन्य च्यानलहरुको प्रसारण बन्द गर्ने बताएका छन् । ‘
नेपालमा प्रसारण हुने धेरैजसो विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ । तर नेपालमा प्रसारण हुने सीमित विदेशी च्यानलहरु मात्र क्लिन फिडमा उपलब्ध छन् ।
यसैले यो कार्यान्वयनमा आउँदा कात्तिक ७ को मध्यरातपछि भने थुप्रै चर्चित विदेशी च्यानलहरुको प्रसारण रोकिने भएको छ । अर्थात् हामीले टेलिभिजनमा हेर्दै आएका लोकप्रिय च्यानलहरु पनि विज्ञापनरहित भएर नेपाली अपरेटरहरुले प्राप्त नगरेसम्म नेपालमा अब प्रसारण हुने छैन ।
यसरी हिजै मध्यरातबाटै नेपालमा थुप्रै अन्तर्राष्ट्रिय च्यानलहरु नेपालमा नचल्ने निर्णय गर्दै सरकारले कार्यान्वयनमा ल्याएसँगै केबल अपरेटरहरुले भने एकैचोटी भन्दा क्रमबद्ध ढंगले क्लिन फिड लागु हुनुपर्ने माग राख्दै आएका थिए ।
हालसम्म भारतीय टेलिभिजन नेटवर्क ’जी’ र ’सोनी’को प्याकेजअन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएको सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए । ’यी दुईको प्याकेजमा भएका बाहेक अन्य कुनै पनि च्यानल अहिलेसम्म विज्ञापनरहित कन्टेन्टमा आएको छैन,’ उनले भने ।
सोनीको प्याकेजमा सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत च्यानल छन्। यस्तै, जी नेटवर्कअन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा, ७ पिक्चर्स, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायतका च्यानलहरु छन् । यी दुई टेलिभिजन नेटवर्क अन्तर्गतका सीमित च्यानलहरु मात्र विज्ञापनरहित प्रसारण हुने अवस्थामा रहेको पराजुलीले बताए ।
यस्तै स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्सलगायतका नेपालमा चर्चित च्यानलहरु पनि तत्काल विज्ञापनरहित भएर आउने पक्का नभएको डिसहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए । अर्थात् नेपालमा आजबाटै तपाईंले टेलिभिजनमा यी च्यानल हेर्न पाउनुहुने छैन।
यसको अर्थ ’स्टार’ को प्याकेज अन्तर्गतका कुनै पनि च्यानल नेपालमा विज्ञापनरहित भएर नआउन्जेल चल्ने छैन । कलर्स, स्टार स्पोर्टस्, स्टार प्लसलगायतका च्यानलहरु क्लिन फिड पालना नगरेका कारण भोलिबाट प्रसारण हुन नपाउने भएका हुन् ।
स्टार स्पोर्टस्, स्टार स्पोर्ट सेलेक्ट लगायतका च्यानलसमेत प्रसारण नहुने भएपछि नेपाली दर्शकहरुले इंग्लिस प्रिमियर लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका फुटबल तथा क्रिकेटका चर्चित लिगहरु भोलिबाटै हेर्न नपाउने भएका हुन् ।
अहिलेसम्म सोनीको प्याकेजका १९ र जीको प्याकेजमा १२ वटा च्यानल मात्रै उपभोक्ताहरुको टेलिभिजनमा विज्ञापनरहित जान तयार भएको पराजुलीले जानकारी दिए । यसबाहेक अन्य च्यानलहरु भारतीय प्रसारण संस्थाहरुबाट नेपाली केबल अपरेटरहरुसम्म विज्ञापनरहित नआएको उनले बताए ।
क्लिन फिडको नियमन तथा अनुगमनका लागि सरकारले विज्ञापन बोर्ड समेत गठन गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । सरकारले भोलिबाट क्लिन फिड पालना भएरनभएको बारे नियमन तथा अनुगमन गर्ने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


