ई–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सेली कम्पनीले पायो |
काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ ।
यसले यस अघि २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको थिएन ।
गत १९ फागुनमा दोस्रोपटक आह्वान भएको टेन्डरमा आईडीईएमआईएसहित सहभागी सबै कम्पनीले तोकिएको योग्यता पेश गर्न नसेककाले असोजको पहिलो सातामा ठेक्का रद्द गरिएको थियो ।
८ असोजमा विभागले तेस्रोपटक टेन्डर निकाल्दा आईडीईएमआईएसहित सात विदेशी कम्पनी प्रतिस्पर्धामा थिए ।
आईडीईएमआईएले सबैभन्दा कम मूल्य अर्थात २ अर्ब ४८ करोड (२ करोड ११ लाख अमेरिकी डलर) कबोल गरेर ई–पासपोर्टको छपाई ठेक्का हात पार्न लागेको हो ।
स्रोतका अनुसार यसअघि रद्द भएको ठेक्कामा आईडीईएमआईएले ३ अर्ब १२ करोड रुपैयाँ (२ करोड ६५ लाख ९० हजार डलर)मा कबोल गरेको थियो । सो टेन्डरमा पनि यही कम्पनी कम रकम कबोल गर्ने कम्पनी थियो ।
तेस्रो टेण्डरमा यसले पहिलेकोभन्दा ६४ करोड रुपैयाँ कम रकम कबोल गरेको छ ।
कम्पनीलाई ७ दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरिएको राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए । ‘छानिएको कम्पनी सम्झौताका लागि आएन भने दोस्रो कम मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्छ,’ उनले भने, ‘अब पासपोर्ट छपाइको काम अघि बढाउन ढिलाइ हुन्न ।’


