दसैंमा खसी, घरै बसीबसी |
काठमाडौं । तपाईं दसैंमा खसी किन्न कहाँ जानुहुन्छ ? कलंकीको खसी बजार ? टुकुचाको बजार ? कि घर नजिकैको चोक ? अब यस्तो झन्झट बेहोर्नु नपर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमणको डरले अधिकांश मानिस घरबाट निस्कन डराइरहेको अवस्थामा श्रीराम ग्रुप अन्तर्गतको अनलाइन खसी डटकमले ग्राहकको घरमै जिउँदो खसी पुर्याउने सुविधा ल्याएको छ।
दसैं लक्षित यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए ।
‘दसैंमा खसी, घरमै बसी–बसी भन्ने हाम्रो नारा छ। हामी ग्राहकको माग अनुसारको स्वस्थ खसी घरमै पुर्याउँछौँ,’ उनले भने ।
सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेका लोकल खसी अनलाइन खसी डटकममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कृषकबाट खसी खरिदअघि कम्पनीको भेटेरिनरी चिकित्सकले त्यसको स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ रहेको यकिन भएपछि मात्रै किनेर ग्राहककोमा पुर्याउने कम्पनीको दावी छ ।
कसरी गर्ने बुकिङ ?
कम्पनीकाे वेवसाइटमा जाने । त्यो पेजको माथि दायाँपट्टी लेखिएको ‘क्विक बुक’ अप्सनमा क्लिक गर्ने ।
त्यहाँ नाम, फोन नम्बर, इमेल, खसीको तौल, ठेगाना, खसी डेलिभरी गर्ने दिन लगायत विवरण भरेर सबमिट गर्ने ।
त्यसपछि अनलाइन खसीका प्रतिनिधिले ग्राहकको अपेक्षा अनुसारको मिल्दोजुल्दो खसी आफ्नो फार्ममा खोज्छन् र ग्राहकलाई खसीको तौल, रङ लगायत जानकारी दिएर फोटो पठाउँछन् ।
उनीहरुले पठाएको फोटो हेरेर ग्राहकले आफ्नो बुकिङ गर्न सक्नेछन् । त्यस्तै ग्राहक आफैंले हेर्न चाहे पनि फार्ममा गएर हेर्न पाउने ढकालले जानकारी दिए ।
ग्राहकले बुकिङको लागि २ हजार ५ सयदेखि ३ हजार तिरेर ईसेवा, खल्ती एपबाट वा आफैंले नगद दिएर बुक गर्नु पर्नेछ । बाँकी पैसा ग्राहकले खसी डेलिभरी गर्दा तिर्न पाउने छन् ।
बुक गरिसकेपछि ग्राहकले तोकेको दिन अनलाइन खसीका प्रतिनिधिले घरमै खसी ल्याइलिने उनले बताए । कम्पनीले खसीको मूल्य प्रतिकेजी ७ सय ५० रुपैयाँ तोकेको छ ।


