प्रभुको ५ वर्षमा ६ हेलिकप्टरः नयाँ एयरबसले पनि पायो उडान अनुमति |
काठमाडौं । प्रभु हेलिकप्टर प्रालिले भित्र्याएको नयाँ एयरबस हेलिकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच वर्षमा यो एयरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो ।
सो बमोजिम चैत्र ११ गते काठममाडौं आइपुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए। कलसाइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलिकप्टर नेपाली भू–भागको लगि योग्य हेलिकप्टर रहेको राजलवटको भनाइ छ। हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरुमा समेत उडान गर्ने योजना रहेको बताइएको छ।
प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ वर्षभित्रै चारवटा नयाँ रोबिन्सन आर ६६ टर्बाइन हेलिकप्टर थपेको थियो ।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको सो हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकको सेवा दिँदै आएको छ।
नयाँ हेलिकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दामाथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ–मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए।
हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती–सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ। लकडाउनमा स्वास्थ्य सुरक्षा मार्गदर्शन र नागरिक उड्डयन प्राधिकरणको निर्देशनअनुसरण गरि काम गरेको प्रभु हेलिकप्टरले कोभिड १९ को विषम परिस्थितिमा पनि उद्दार उडानहरु जारी राखेको थियो।



