तातोपानी र रसुवागढी नाका एकतर्फी सञ्चालनमा |
काठमाडौं । आइतबारबाट तातोपानी र रसुवागढी नाका एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी शुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
आइतबार बिहान रसुवागढी नाका भएर नेपाली भन्सार यार्डमा चीनबाट पाँच ट्रेलर माल वस्तु प्रवेश गरेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
यस्तै आइतबारबाट तातोपानी नाकाबाट पनि समानहरु नेपालतर्फ आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी नाका भएर १२ वटा कन्टेनर नेपाल आउन हिँडेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
यसैबीच नेपालका लागि चिनीयाँ राजदूत होउ यन्सीले पनि नेपालका लागि अति आवश्याक सामान पठाउन तातोपानी नाका पुनː सञ्चालनमा आएको ट्वीटरमार्फत जानकारी दिएकी छिन् ।
‘म खुसी छु, तातोपानीतर्फको नेपाल चीन नाका आजबाट पुनः सञ्चालनमा आएको छ, यसमा नेपाल र चीन दुवैको मेहिनत छ, नेपालीको दशैं बनाउन अत्यावश्यक वस्तु दवै नाका भएर आउनेमा म विश्वस्त छु,’ राजदूत यन्सीले भनेकी छिन् ।
नेपाली श्रमिकलाई कोरोना देखिएपछि भदौ १५ गतेदेखि रसुवागढी र बाढी तथा पहिरोका कारण असार ४ गतेदेखि तातोपानी नाका अवरुद्ध भएको थियो ।



