सेयर धितो राखेर ७.७५ प्रतिशत ब्याजमै नविलबाट ऋण पाइने, कसरी लिने यस्तो ऋण ? |
काठमाडौं । नविल बैंकले ७. ७५ प्रतिशतमै सेयर धितोमा कर्जा दिने योजना ल्याएको छ । ५० लाख रुपैयाँभन्दा बढी ऋण लिनेले यो सुविधा प्राप्त गर्ने नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन् ।
यद्यपी बैंकबाट २० लाख रुपैयाँमाथिको ऋण पनि सेयर धितो राखेर नै लिन पाइनेछ । २० देखि ५० लाख रुपैयाँसम्म यस्तो ऋण लिनेले भने आधार दरमा १. ५ प्रतिशत प्रिमियम थपेर ब्याजदर तिर्नुपर्ने उनले बताइन् । हाल नविलको आधार दर ७. ३२ प्रतिशत छ ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार नै सेयर धितोमा कर्जा दिइने उनले बताइन्। धितो राख्ने साधारण सेयरको पछिल्लो १२० दिनको औसत बजार मूल्य हिसाव गरेर त्यसैको ७० प्रतिशतसम्म यस्तो ऋण प्रवाह गर्न पाइने व्यवस्था छ ।
१२० दिनको औसत बजार मूल्य १ करोड आएमा सो व्यक्तिले ७० लाखसम्म मात्रै ऋण प्राप्त गर्न सक्छ । यद्यपी संस्थापक सेयरको हकमा भने ५० प्रतिशत मात्रै ऋण दिन सक्ने व्यवस्था छ ।
‘कसैसँग नेप्सेमा कारोबार हुने आइडल सेयर छ र उहाँलाई कुनै व्यवसाय वा खर्च टार्न पैसा चाहिएको अवस्था भएमा ऋण लिन सक्नुहुन्छ’ श्रेष्ठले भनिन् ।
सेयर धितो राखेर लिएको ऋण सेयर लगानीमै प्रयोग गर्नुपर्ने बाध्यता छैन । सेयर धितो राखेर ऋण लिनका लागि आफ्नो पान कार्ड, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, डिम्याट खाताको स्टेटमेन्ट, भरेको बैंक फारम जरुरत पर्दछ ।
डिम्याट खातामा भएका सम्पूर्ण सेयर धितोमा भने ऋण प्रवाह नहुन पनि सक्छ। ‘वाणिज्य बैंकका सबैको सेयरमा दिन सकिन्छ’ उनले भनिन् ‘राम्रा विकास बैंक, फाइनान्स, बीमा कम्पनी तथा जलविद्युत कम्पनीका सेयर धितोमा पनि ऋण दिइन्छ ।’
प्रक्रिया पुरा भएको ३ दिनमै यो ऋण स्वीकृत गरिने बैंकले जनाएको छ । यस्तो ऋणको ब्याज १ वर्षसम्म बढ्ने छैन । ‘१ वर्षसम्म ब्याज बढ्दैन, त्यसपछि आधार दरअनुसार परिवर्तन हुन सक्छ’ श्रेष्ठले भनिन् ।
कहिलेकाहीं सेयर धितो राखेर ऋण लिइसकेपछि बजारमा सेयरको मूल्य अत्याधिक घट्न पनि सक्छ । त्यस्तो अवस्थामा बैंकहरुले फोन गरेर थप सेयर धितो माग्न सक्नेछन् ।
धितो राखिएको कुल सेयरमा १२० दिनको औसत मूल्य २० प्रतिशतभन्दा धेरैले कमी आएमा मात्रै बैंकले कल गर्न सक्ने उनले बताइन् ।


