उपभोक्ता ठगी गर्ने २६ पसललाई कारवाही गर्न सिफारिस |
काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गरी उपभोक्ता ठगी गर्ने २६ वटा खाद्यान्न पसललाई कारवाहीको लागि सिफरिस गरेको छ ।
महानगर उपभोक्त हित संरक्षण समितिले २२ दिनसम्म गरेको नियमित अनुगमनमा दोषी भेटिएकाहरुलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।
अनुगमनको क्रममा महानगरले १ सय २३ मध्ये २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराएको उपप्रमुख तथा अनुगमन समिति संयोजक हरिप्रभा खड्कीले जानकारी दिइन् ।
ती व्यवसायलाई थप कारवाही गर्न विभागलाई पत्र पठाएको खड्कीले बताइन् । ‘विगतका वर्षहरुमा चाडपर्व लक्षित अनुगमन हुने गरेको थियो, यसपाली हामी चाडपर्व कुरेर बसेका छैनौं । कालोबजारी गर्नेलाई कारवाहीको दायरामा ल्याउनेछौं,’ उपप्रमुख खड्कीले भनिन्, ‘यो नियमित अनुगमन हो वर्षभरी चालु हुनेछ । उपभोक्ताको भान्सा र स्वास्थ्यप्रति हामी सचेत छौं ।’
अनुगमनमा काठमाडौंका ठूला तरकारी बजारहरु कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफुल पसल हेरिएको छ । यस्तै दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली क्षेत्रमा समेत अनुगम गरिएको महानगरले बताएको छ ।
अनुगमन क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रत्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको हेरिएको थियो ।


