विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख पार |
काठमाडौं । कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन् । उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् ।
विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन् । कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ । हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन लगायतका सुरक्षात्मक सावधानीले विश्वका धेरै मुलुकले आर्थिक मन्दीको सामना गर्नुपरेको छ ।
यसैगरी यसका विरूद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएको छैन । चार वटा खोपहरूको परीक्षण तेश्रो चरणमा पुगेको भएपनि पूर्णरूपमा यी खोपहरू आमप्रयोगका लागि कहिलेसम्म बनिसक्छन् भन्ने एकिन भइसकेको छैन् ।
विश्व स्वास्थ्य संगठनले खोप तयार हुनेबेलासम्म विश्वमा २ लाख मानिसले संक्रमणका कारण ज्याउन गुमाइसक्ने चेतावनी दिएको छ ।
कोरोनाका कारण विश्वमा अमेरिका, ब्राजिल र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन् ।
विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ ।
अमेरिकामा हालसम्म २ लाख ५ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ब्राजिल र भारतमा क्रमशː १ लाख ४१ हजार ७ सय र ९५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ ।


