अपि पावरको तेश्रो आयोजनामा ६ कम्पनीले ५ अर्ब १८ करोड ऋण लगानी गर्ने |
काठमाडौं । अपि पावर कम्पनीको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निमार्णका लागि ६ वटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोढ ऋण लगानी गर्ने भएका छन् ।
कम्पनीले सञ्चालन गर्न लागेको उक्त आयोजनाको लागि हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशː कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएको हो ।
कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना पहिचान गरी निर्माणको काम शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गर्ने गरि उक्त आयोजना शुरू गर्ने भएको हो ।
यस आयोजना निर्माणका लागि जम्मा ७४० करोड लगानी लाग्ने कम्पनीको अनुमान गरिएको छ। कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २२२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई रहेको छ भने बाँकी ७० प्रतिशतले हुने रकम ५१८ करोड हिमालन बैंक को अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।
यस आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि (२०७५ साल आषाढ मसान्तमा कायम) चुक्ता पूँजी ११३.४० करोडको २ः०.४७ को अनुपातमा ५६.७० करोडको हकप्रद शेयर जारी गर्नका लागि गत फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको छ। कम्पनीको हालको चुक्ता पूँजी ११९ करोड रहेको छ ।
आर्थिक वर्ष २०७५∕०७६ मा कम्पनीले ५ प्रतिशतका दरले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । आ.व २०७५∕०७६ को ५ प्रतिशतको वोनश शेयर सम्बन्धित शेयरधनीहरुको खातामा हाल्ने हो भने कम्पनीको चुक्ता पूँजी रु.११९ करोडबाट ५ प्रतिशतले बढ्न जानेछ र कम्पनीलाई प्राप्त १ बराबर ०.४७ को हकप्रद शेयरको समिकरण बिग्रन जान्छ। यस कारण हकप्रद जारी गरे पश्चात कम्पनीले ५ प्रतिशतको बोनस शेयर सम्बधित शेयरधनीहरुको खातामा जम्मा गर्ने जानकारी गराएको छ । यस पछि कम्पनीले आर्थिक वर्ष २०७६∕०७७ मा आर्जित नाफाबाट दोहोरो अंकमा शेयरधनीहरुलाई लाभांश उपलब्ध गराउनेछ ।
अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा. को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ ।



