विश्वमा कोरोनाका कारण मर्नेको संख्या ९ लाख नाघ्यो, संक्रमित संख्या २ करोड ७७ लाख पुग्यो |
विश्वमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु बुधबार ९ लाख नाघेको छ । यस्तै संक्रमित संख्या २ करोड ७७ लाख पुगेको रोयटर्सले जनाएको छ ।रोयटर्सका अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशː ब्राजिल र भारत छन् ।
संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार बढी मानिसको मृत्यु भइसकेको छ भनेर संक्रमित संख्या ६३ लाख पुगेको छ । यस्तै ब्राजिलमा मृतक संख्या १ लाख २७ हजार नाघेको छ भने भारतमा ७४ हजारको नजिक पुगेको छ ।
सोमबार भारतमा ९० हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेका थिए । यो संख्या महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकैदिन भेटिएको उच्च संख्या हो ।
ब्राजिलको संक्रमित संख्या ४३ लाख नाघेको छ भने भारतमा ४१ लाख नाघेको छ । भारत पछिल्लो समय संक्रमणको केन्द्रबिन्दु बनेको छ । भारत विश्वको सर्वाधिक जनसंख्या भएको दोश्रो मुलुक हो ।
बुधबारबाट उसले बारहरू खोल्ने अनुमति दिएको छ । यसले संक्रमित संख्या थप बढाएको रोयटर्सले जनाएको छ ।
यस्तै मृतक संख्या थपिने क्रम पनि भारतमा बढेको छ । पछिल्ला दुई सातादेखि भारतमा प्रत्येक दिन औषतमा हजारबढी मानिसको कोरोनाबाट मृत्यु हुँदै आएको छ ।
विश्वको कुल मृतक संख्याको आधा संख्या अमेरिकाबाट छन् । यस्तै मेक्सिको, पेरू, कोल्मबिया, चिलि र एक्वाडरमा पनि मृतक संख्या उच्च छ ।
रोयटर्सले दिएको तथ्यांक अनुसार विश्वमा कोरोनाका कारण प्रतिदिन औषतमा ५६ सय बढी मानिसहरूको मृत्यु हुने गरेको छ । यो बितेका दुई साताको तथ्यांक हो। १८ दिनको अवधिमा मृतक संख्या ८ लाखबाट ९ लाख पुगेको छ ।
भारतको मृतकदर एक प्रतिशत रहेको छ भने अमेरिका र ब्राजिलको ३ प्रतिशतको हाराहारीमा छ ।
जुलाईमा उच्च बिन्दुमा पुगेयता अमेरिकाको संक्रमित र मृत्यु संख्यामा कमी आइरहेको छ । विद्यार्थी कलेज फर्किन थालेसँगै संक्रमित संख्या बढ्ने क्रम ४० प्रतिशतले बढ्न थालेको पनि रोयटर्सले जनाएको छ ।
यस्तै युरोपका केही भागमा पुनः संक्रमण बढ्न थालेको छ । संक्रमण बढ्ने क्रम पहिलो महामारी जस्तै भएकाले यसले दोश्रो लहर आउन थालेकोतर्फ संकेत गरेको छ ।


