राजधानीका सडकमा गुड्न थाले गाडी, चहलपहल पनि बढ्यो |
काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारी साधन र १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै ट्याक्सी पनि जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।
ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ । जोर गते जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका यातायातका साधन सञ्चालन गर्न पाइनेछ ।
ट्राफिक प्रहरीले बिजोर गतेका दिन सञ्चालित जोर नम्बरका सवारीलाई भने नियन्त्रणमा लिएको छ । जोर–बिजोर प्रणालीमा संचालन हुने सवारीसाधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ ।


