आयल निगमले पाँच ठाउँमा अत्याधुनिक पार्किङ बनाउने |
काठमाडौं । नेपाल आयल निगमले फायर फाइटिङसहितको अत्याधुनिक पार्किङ बनाउन लागेको छ । निगमले विराटनगर, थानकोट, भैरहवा, नेपालगञ्ज र अमलेखगञ्ज गरी पाँच ठाउँमा पार्किङ बनाउन लागेको हो ।
पार्किङ बनाउन निगमले आठ करोड बजेट विनियोजन गरेको छ । पार्किङ चालू आर्थिक वर्ष २०७७∕०७८ भित्रमै सम्पन्न गरिने निगमले जानकारी दिएको छ ।
आयल इन्डष्ट्रिज सेफ्टी डाइरेक्टिभ स्ट्याण्ड (ओआइएसडी)को मापदण्डअनुरूप पार्किङ बनाइने छ । पार्किङ ट्यांकरको साइज अनुसार दुईदेखि तीन बिगाहा जग्गामा बन्ने छ ।
एउटा पार्किङको लागत एकदेखि डेढ करोडसम्म रहेको छ । पार्किङ स्थलमा १२ फिटको वाल लगाइने छ । पार्किङमा सुरक्षाका सबै सामग्री राखिन्छ । गेटबाट सिधै लोड∕अनलोड गर्न सकिने सुविधा रहने छ ।
फायर सेफ्टीको लागि फायर हाइड्रेण्ट सिस्टम जडान गरिएको छ । जसले गर्दा ५० मिटर परसम्मको आगो निभाउन सकिन्छ । साथै, अर्थिङ सिस्टम पनि जडान गरिने छ । पार्किङभित्र ट्वाइलेट बाथरूमको पनि सबै व्यवस्था गरिएको हुने छ ।


